Thursday, February 25, 2016

अव्यवस्थित वैदेशिक रोजगार र बाध्यता

  • सुमन बैरागी

मुलुकमा हुने गरेको द्वन्द्व, हत्या, हिंसा, बन्द र हड्तालले युवायुवतीमा मानसिक विचलन बढ्दै गएको छ । मुलुकले बेरोजगारी उत्पादन गर्ने उपमा पाउँदै छ । गाउँमा अहिले युवाविहीन अवस्थाको सिर्जना भएको छ । एकातिर गाउँका युवाशक्ति पलायन हुँदा गाउँको ऊर्जामय भूमि खोरियामा परिणत भएको छ भने अर्कोतिर गाउँमा भएका बुढाबुढी रोगको मुखमा पुग्दा पनि औषधोपचारका लागि अस्पताल लैजाने व्यक्तिसम्म नहुने अवस्था आइपरेको छ । स्वदेशमा परिवारमाथि परेको पीडा एकातिर छ भने अर्काेतिर विदेश पलायन भएका बेरोजगारहरूले रोजगार त पाए तर बाध्यात्मक परिस्थितिमा आफ्नो श्रम र सीपलाई सस्तोमा बेच्नुपरेको अवस्था यथावतै छ । स्वदेशमा पर्याप्त रोजगार नपाउनु र सधैं महँगीको मार खेप्नुपर्ने बाध्यताले ग्रसित बनाएपछि बाध्यात्मक रूपमा रोजगारीको विकल्प वैदेशिक रोजगारलाई बनाउनुपरेको आप्रवासी कामदारको पीडाबाट स्पष्ट देखिन्छ ।

विश्वमा सस्तो कामदार उत्पादन गर्ने मुलुकका रूपमा नेपाललाई चिनाइएको छ । जुन नेपाल सरकारको नालायकीपनले गर्दा नेपालीले विदेशमा यस्तो अवस्था भोग्नुपरेको हो । अहिले नेपाल सरकारले एक सयभन्दा बढी राष्ट्रमा नेपाली कामदारलाई रोजगारीमा जानका लागि खुला गरे पनि हाल नेपालीको गन्तव्य मुलुकका रूपमा खाडी मुलुक नै प्रमुख भएको छ । दक्ष र अदक्ष कामदारका लागि सजिलै भिसा प्राप्त गर्न सकिने मुलुकका रूपमा छिट्टै वैदेशिक रोजगारीमा जानका लागि मलेसिया, युएई, कतार, बहराइन, साउदी अरेयिबा, कुवेतलाई विशेष गरेर लिइएको छ ।

त्यसैगरी अफगानीस्तान, इराक जस्ता मुलुकमा पनि गैरकानुनी रूपमा नेपाली कामदार जानेक्रम तीव्र छ । अहिले नेपालीहरूका लागि दक्षिण कोरिया र जापान जस्ता विकसित मुलुकमा पनि रोजगारीका लागि नेपाल सरकारले सस्तो कामदारका रूपमा कामदार पठाइरहेको छ ।

खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूमध्ये कसैले राम्रो सफलता हात पारे पनि प्रायः नेपालीले पीडा नै भोगेर रित्तो हात स्वदेश फर्किएको हामीले देखिरहेका छौं । यसमा पनि सस्तो श्रमका कारण नेपालमा रहेका मानवतस्कर, दलाल, एजेन्ट र मेनपावर कम्पनीका कारण नै नेपाली कामदारले पीडा भोग्नुपर्ने बाध्यता छ । नेपाल सरकारको कमजोर र भ्रष्टाचारी नीति र मेनपावर क्षेत्रका दलालहरूको कमाइखाने भाँडो बनिरहेको वैदेशिक रोजगारले नेपाली कामदारहरूको जीवनमा खुसीयालीभन्दा पीडा नै बढी दिएको छ । नेपालको प्रमुख अर्थतन्त्रका रूपमा स्थापित भएको वैदेशिक रोजगार व्यवसायलाई अहिलेसम्म सरकारले व्यवस्थित रूपमा पस्कन सकेको छैन । वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सले देशको सम्पूर्ण अर्थतन्त्र धानिएको छ र पनि नेपाल सरकारले उचित व्यवस्था मिलाएर वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सकेको छैन । जसको फलस्वरूप नेपाली युवायुवतीले विदेशमा शोषणमा पर्नु, दलालले ठग्नुलगायत अनेकौं श्रमशोषणमा पर्नुपरेको दृष्टान्त हाम्रो माझ छर्लंग छ । त्यसो त वैदेशिक रोजगारमा जाने कामदारहरूलाई मेनपावरले पठाउँदा पनि सबै व्यक्तिगत रूपमा विदेश गएको डकुमेन्टहरू बनाएर विदेश पठाउन थालिएको छ । जुन श्रममन्त्रालयले पनि मेनपावर व्यवसायीहरूलाई स्वीकृति दिएको छ । त्यसकारण वैदेशिक रोजगारमा जाने कामदारलाई पठाउँदा कुनै पनि डकुमेन्टमा सम्बन्धित मेनपावरको नाम उल्लेख नहुने श्रममन्त्रालयको स्वीकृतिले अब झन् नेपाली कामदारलाई पीडा थपिने स्पष्ट छ । मेनपावरको नाम उल्लेख नगरिँदा विदेशमा गएका नेपाली कामदारले कुनै कारणवश स्वदेश फर्कनुपरेमा उसको सम्पूर्ण लगानी डुब्ने खतरा बढेको छ । उसले आफ्नो डकुमेन्टअनुसार कुनै पनि मेनपावर कम्पनीबाट गएको देखिँदैन । त्यसको फलस्वरूप ऊ आफैं व्यक्तिगत रूपमा गएको प्रमाणित हुँदा उसलाई मेनपावरले सजिलै ठग्न सक्ने अवस्था नेपाल सरकारले बनाइदिएको छ । यदि व्यक्तिगत भिसा, श्रम इजाजत, इन्स्योरेन्सलगायतका डकुमेन्ट लिएर विदेश जानुपर्ने भए मेनपावरको कुनै पनि आवश्यकता नपर्ने विश्लेषकहरूको दाबी छ ।

सरकारको राजनीतिक खिचतानीले गर्दा मुलुकमा सधैं संक्रमणकालको स्थिति जारी नै छ । मुलुकमा भइरहेको बन्द, हड्ताल र राजनीतिक अस्थिरताले गर्दा सबै औद्योगिक प्रतिष्ठानलगायतका मजदुर कार्यरत सम्पूर्ण क्षेत्र अन्योलग्रस्त बन्दै आएको छ । भएका केही उद्योगधन्दा पनि विगतको द्वन्द्वको समयमा बन्द भइसकेका छन् । यसले गर्दा पनि नेपाली युवायुवतीले स्वदेशमा रोजगारीको विकल्प नहुँदा विदेश पलायन हुनुपरेको हो ।



विदेशमा कार्यरत नेपालीहरूमा पनि सबैभन्दा बढी पीडा अहिले महिलाहरूले भोग्दै आइरहेका छन् । केही समयपहिला महिलाका लागि वैदेशिक रोजगार बन्द गरे पनि उनीहरू गैरकानुनी रूपमा भारतको बाटो हुँदै खाडीमा पुगेका छन् । द्वन्द्वपीडित महिलाहरूले आफ्नो परिवार पाल्नका लागि र असहाय, गरिब महिलाहरूले ठूलो धनराशी हात पारिदिने प्रलोभन देखाउँदै नेपाली एजेन्टहरूले प्रत्येक महिलाहरूसँग २५÷३० हजार रुपैयाँ लिएर विदेश पठाइदिएका छन् । कानुनी रूपमा विदेश गएका महिलाहरूमा भने थोरै समस्या रहेको छ । तर, गैरकानुनी रूपमा गएका महिलामा बढी समस्या उत्पन्न हुने गरेको छ । दलालहरूले गाउँ–गाउँबाट ती महिलाहरूलाई ललाइफकाइ प्रलोभन देखाएर खाडी मुलुक पठाउने भन्दै दिल्ली, मुम्बईमा लगेर केहीलाई त्यतै बेच्ने र केहीलाई खाडी मुलुकमा ‘होम मेड’ (घरायसी कामदार) का रूपमा काममा पठाउने गरेका छन् । त्यसरी खाडी पुगेका घरायसी कामदारमा महिलाहरूले बढी पीडा भोग्न बाध्य छन् । पटक–पटक हामीले सञ्चारमाध्यममा सुनिरहेका छौं र छापामाध्यमहरूमा पढिरहेका छौं– ‘खाडी मुलुकमा गएका महिलाहरूले यौनशोषण, शारीरिक यातना, मानसिक यातनालगायतका दयनीय पीडा भोग्नुपरेको अवस्था छ । उनीहरूले साहुको घरमा पाहुनाको सत्कारको साधनको रूपमा यौनतृष्णा मेटाइदिनुपर्ने अवस्था छ । एकातिर यौन शोषणबाट पीडित हुनुपरेको भने अर्कोतर्फ गर्भवती भएर नेपाल फर्कनु परेको अवस्था जगजाहेरै छ । साहुको घरमा काममा पठाउँदा नेपालबाट जाने महिलाका लागि टिकट र भिसाको खर्च दलालले साउदीबाटै लिएको हुन्छ भने यता पनि २५÷३० हजार रुपैयाँ लिएर उनीहरूलाई विदेश पठाएका हुन्छन् । ठूलो धनराशी हात पार्ने र आफ्नो परिवार सवल बनाउने उद्देश्य बोकेर दलालसँग हिँडेका महिलालाई दिल्लीमा पुगेपछि दलालहरूले समेत यौनकार्यमा लगाउने गरेको गुनासो पीडित महिलाहरूको छ । कतार, साउदी अरब, दुबई, इजरायल, कुबेतलगायतका खाडी मुलुकहरूमा नेपाली महिला कामदार कार्यरत छन् । त्यीमध्येमा बढी पीडा भोग्नुपर्ने ठाउँ साउदी अरब रहेको पीडा लिएर फर्किएका महिलाहरूको अनुभूति र साउदीस्थित नेपाली दूतावासको तथ्यांकले जनाएको छ । 
(कगmबलठडड२नmबष्।िअयm

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...